
दोस्रो चरणको स्थानीय निकायको निर्वाचनमा पश्चिम नेपालको गौरव मानिने नेपालगन्ज उपमहानगर पालिकाको माहोल तात्दिै गएको बेला एकीकृत राष्ट्रिय प्रजातन्त्र राष्ट्रवादी पार्टीको तर्फबाट कृष्ण प्रसाद खरेल मेयरमा उम्मेदवारी दिने घोषणा गरेका छन् । विगत १ महिना देखि अनौपचारिक रुपमा चुनावी अभियानमा होमिएका खरेल नेपालगन्ज उपमहानगर पालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । गाई चिन्ह बोकेको राप्रपालाई देशभरीको परिणाम बाट कन्त विजोग भइरहेको बेला जित्ने आधार प्रशष्ट रहेको समेत खरेलले उल्लेख गरे । एकीकृत राष्ट्रिय प्रजातन्त्र राष्ट्रवादी पार्टीको केन्द्रिय सदस्य र जिल्ला अध्यक्ष रहेका खरेलले एक पटक नगरको विकासका निमित्त सबैको साथ सहयोगको अपेक्षा रहेको धारणा राखेका छन् ।

नगरका विभिन्न वडाहरुमा विभिन्न साना दलहरु संग गठवन्धन गरेर निर्वाचनमा जाने तयारी भइरहेको समेत खरेलले जानकारी दिए । गाउँ, बजारमा पकड राम्रो छ, अन्य साना केहि दलले पनि सहयोग गर्ने भनेका छन, त्यसैले जित्ने आधार धेरै छ, मेयरको उम्मेदवार खरेलले भने । मेयर पदमा जितेपछि ग्रिन सिटी बनाउने, सबैजसो स्थानमा रिङ्गरोड बनाउने, भर्खर गाभिएका नयाँ गाविस र बजारको राजश्व प्रकृति अनुसार एकरुपता ल्याउने, वेरोजगार युवायुवतीहरुलाई रोजगारको व्यवस्था गर्ने, नगर भित्र रहेको विद्यालयहरुमा व्यवसायीक शिक्षा लागु गर्ने र एडिवी लगायत अन्य ठुला दातृ निकाय संग सहयोग मागेर नगरको ढल निकास, फोहर व्यवस्थापन, खानेपानीको सुविधा लगायत ठुला विकासको योजना सफल पार्ने लक्ष्य रहेको समेत खरेलले जनाए ।