जिवनमा आइपर्ने स्वास्थ्य उपचारमा आर्थिक भार कम गर्न सुरु गरिएको स्वास्थ्य विमा कार्यक्रम बाँके जिल्लाका विभिन्न स्थान सहित राप्ती सोनारीमा पनि लागु गरिएको छ ।
एक परिवारका ५ जना सदस्यले २ हजार ५ सयको स्वास्थ्य विमा गरेको खण्डमा बर्षभरि उक्त परिवारको जो कोहि सदस्य विरामी भएमा ५० हजार रुपैयाँ सम्मको उपचार पाउने छ । परिवारमा ५ जना भन्दा धेरै सदस्य भएमा प्रति व्यक्ति विमा गर्दा ४ सय थप गर्ने र त्यहि अनुरुप ५० हजारमा १० हजार थप गरेर स्वास्थ्य उपचार सेवा पाउने प्रावधान रहेको छ । स्वास्थ्य विमा गराएका परिवारहरुले बाँके जिल्लामा रहेको भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज, फत्तेबाल आँखा अस्पताल र कोहलपुर दश विगाहमा गएर सेवा लिन पाउने छन् ।
राप्ती सोनारीका स्वास्थ्य इन्चार्ज विष्णु चुडालीका अनुसार सबै स्वास्थ्य संस्था र वडा कार्यालय संगको सहकार्यमा बिमा दर्ता सहयोगी प्रत्येक वडामा राखेर बिमा कार्यक्रम अगाडी बढेको छ । राप्ती सोनारी ३ र ४ मा पनि दर्ता सहयोगी राखेर स्वास्थ्य विमा अभियान सन्चालन गरिएको छ ।
बैजापुर स्वास्थ्य चौकीका इन्चार्ज रामचन्द्र वलीले वडा न. ३ मा सविता थारु र ४ मा हिरा थारुलाई दर्ता सहयोगी राखेर करिव २ हजार बढि परिवारलाई स्वास्थ्य विमा गराउने कार्यक्रम रहेको उल्लेख गरे ।
राप्ती सोनारीमा सरकारी तथ्याकं अनुसार ३४ प्रतिशत परिवार गरिविको रेखा मुनि रहेको र स्वास्थ्य विमा सम्वन्धी प्रयाप्त जानकारी नहुँदा स्वास्थ्य विमा कार्यक्रम प्रभावकारी बनाउन कठिनाई देखिएको छ ।
